काठमाडौं । झापाको कमल गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ करिब ६ः४० बजे कमल गाउँपालिका–२ स्थित छलफल चोकको भित्री सडकमा केर्खाबाट समयगढतर्फ जाँदै गरेको मे ११ प १६१८ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा स्कुटरको पछाडि सवार धादिङको थाँक्रे गाउँपालिका–११ स्थायी घर भई हाल कमल–६ बस्दै आएका ३० वर्षीय राजन तामाङ गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा निम्स अस्पताल, दमकमा साँझ करिब ७ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक इलामको माई नगरपालिका–१ स्थायी घर भई हाल दमक–५ बस्दै आएका २९ वर्षीय राजन महत गम्भीर घाइते भएका छन्। उनको टाउको र बायाँ कानमा चोट लागेको छ। निम्स अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई बीएण्डसी अस्पताल, बिर्तामोड रेफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



