काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा एक वर्षको अवधिमा २२ वटा गैँडा मरेका छन्। गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांकअनुसार निकुञ्ज क्षेत्रमा २० र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार दुई वटा गैँडाको मृत्यु करेन्ट लागेर भएको हो भने अन्यको मृत्यु प्राकृतिक कारणले भएको हो।
उनका अनुसार चितवनको माडी क्षेत्र र नवलपरासी (सुस्तापूर्व) को लोकाहा खोला आसपासमा करेन्ट लागेर गैँडा मरेका थिए। माडीको घटना मध्यवर्ती क्षेत्रभित्र र नवलपरासीको घटना राष्ट्रिय वन क्षेत्रमा भएको जनाइएको छ।
अन्य गैँडाको मृत्यु दलदलमा फस्नु, आपसमा जुध्नु, बाघको आक्रमण, उमेरजन्य कारणलगायतबाट भएको निकुञ्जले जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ मा पनि प्राकृतिक कारणले ३० वटा गैँडा मरेका थिए। तीमध्ये दुई वटा राष्ट्रिय वन क्षेत्रमा र बाँकी निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र मरेका थिए।
सन् २०२१ मा गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६९४ वटा वयस्क गैँडा रहेका थिए।




