काठमाडौं । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकस्थित सडकमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले सडक पार गर्ने क्रममा स्थानीय करिब ७० वर्षीया विष्णुमाया मगरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।
घटनापछि प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सङ्खुवासभाको चैनपुर नगरपालिका–११ स्थायी घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्दै आएका २३ वर्षीय विक्रम माझी रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



