काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९ का ती महिलाहरू आइतबार बिहान निकुञ्ज प्रवेश गरेपछि परिवार र स्थानीयसँग सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दशरथ टोल र बागफाँटा क्षेत्रका महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ खोज्न निकुञ्जतर्फ गएका थिए। उनीहरू निकुञ्जको मालुमेला पोष्ट हुँदै जंगल प्रवेश गरेको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार उनीहरू दुई समूह बनाएर जंगल गएका थिए। नौ जना र पाँच जनाको समूहमा छुट्टिएका उनीहरू साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी र स्थानीयवासीको सहकार्यमा खोजी तथा उद्धार अभियान सुरु गरिएको प्रहरीले जनाएको छ।




