काठमाडौं। अमेरिका र इरानबीच जारी तनाव थप गहिरिएको छ। बुधबार साँझ अमेरिकाले इरानका विभिन्न सैन्य संरचनालाई लक्षित गर्दै नयाँ हवाई आक्रमण गरेको छ। आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई ‘राम्रो व्यवहार गर्न’ चेतावनी दिएका छन्।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार पछिल्लो आक्रमणमा इरानका सैन्य कमान्ड केन्द्र, हवाई प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन केन्द्र र तटीय निगरानी संरचनालाई निशाना बनाइएको थियो। अमेरिकी सेनाले हालका लागि उक्त आक्रमण अभियान समाप्त भएको जनाएको छ।
अमेरिकाले यस कारबाहीको मुख्य उद्देश्य हर्मुज स्ट्रेट हुँदै सञ्चालन हुने व्यापारिक जहाज र तिनका चालक दलमाथि खतरा सिर्जना गर्न सक्ने इरानको सैन्य क्षमतालाई कमजोर बनाउनु रहेको जनाएको छ।
इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य आधारमाथि आक्रमण गरेको दाबी गरेपछि अमेरिकाले यस्तो कदम चालेको हो। यसैबीच, इरानका प्रमुख वार्ताकार तथा संसदका सभामुख मोहम्मद बगेर गालिबाफले सरकारी सञ्चारमाध्यममार्फत प्रतिक्रिया दिँदै कुनै सम्झौताबाट फाइदा नहुने अवस्था आए त्यसलाई पालना गरिरहनुपर्ने आवश्यकता नरहेको बताएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार इरानलाई चेतावनी दिँदै अर्को साता वार्तामा नफर्किए पुल र ऊर्जा केन्द्रहरूलाई लक्षित गरी आक्रमण गर्न सकिने बताएका थिए।




