२०८३ श्रावण १०

शुक्लाफाँटा निकुञ्जमा हराएका सबै महिला सुरक्षित सम्पर्कमा, सेनाको खोजीपछि उद्धार

काठमाडौं ।कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू सम्पर्कमा आएका छन् । गत आइतबारदेखि सम्पर्कविहीन रहेका उनीहरू नेपाली सेनाको नेतृत्वमा भएको खोजी अभियानपछि परिवारको सम्पर्कमा पुगेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सबै सुरक्षा संयन्त्र परिचालन गरी खोजी तीव्र पारिएको र केही समयअघि महिलाहरू सुरक्षित अवस्थामा परिवारको सम्पर्कमा आएको जानकारी दिए । यसैगरी, आइतबार साँझदेखि निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन महिलालाई सेनाको सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ । निकुञ्जभित्र अवैध रूपमा च्याउ टिप्न गएका तीन महिला समूह सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए ।