काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न उपभोक्ता तथा औद्योगिक सामानमा ५० प्रतिशतसम्म आयात कर लगाउने घोषणा गरेका छन्। अमेरिकी उत्पादन, विशेषगरी सवारीसाधन, डेरी तथा मदिरा क्षेत्रमा क्यानाडाले असमान व्यापार नीति अपनाएको आरोप लगाउँदै ट्रम्पले यस्तो निर्णय गरेका हुन्।
नयाँ करअन्तर्गत वाइन, हकी स्टिक, सिमेन्टलगायतका विभिन्न वस्तु प्रभावित हुनेछन्। तर ऊर्जा, पोटास, महत्वपूर्ण खनिज तथा माछाजस्ता केही प्रमुख क्यानाडाली निर्यात सामग्रीलाई भने नयाँ शुल्कबाट छुट दिइएको छ।
अमेरिकी प्रशासनले घोषणा गरेको नयाँ शुल्क ३० दिनपछि लागू हुने जनाइएको छ। यो शुल्क क्यानाडा–अमेरिका–मेक्सिको व्यापार सम्झौता (USMCA) अन्तर्गत पर्ने केही सामानमा समेत लागू हुने बताइएको छ। ट्रम्प प्रशासनले उक्त कदमलाई १९३० को ट्यारिफ एक्टको धारा ३३८ अन्तर्गत व्यापारिक भेदभावको आधारमा अघि बढाएको जनाएको छ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाउँदै यसलाई क्यानाडाको सार्वभौमिकतामाथिको चुनौतीका रूपमा लिएका छन्। उनले आगामी दिनमा अमेरिकासँग व्यापार वार्ता तीव्र बनाउने बताएका छन्।
ट्रम्पले क्यानाडाले अमेरिकी मोटर गाडी र पार्ट्समा अन्य देशको तुलनामा बढी कर लगाएको आरोप लगाएका छन्। उनले क्यानाडाको डेरी क्षेत्रमा रहेको आपूर्ति व्यवस्थापन प्रणालीका कारण अमेरिकी उत्पादनलाई बजार पहुँचमा कठिनाइ भएको दाबी गरेका छन्। त्यस्तै, मदिरा क्षेत्रमा पनि अमेरिकी उत्पादनमाथि केही प्रान्तहरूले प्रतिबन्धात्मक नीति अपनाएको उनको आरोप छ।
यसअघि नै अमेरिकाले क्यानाडाबाट आयात हुने स्टील, एल्युमिनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म शुल्क लगाइसकेको छ। त्यस्तै, सफ्टवुड लम्बरमा ३५ प्रतिशत र गैरअमेरिकी पार्ट्स प्रयोग भएका सवारीसाधनमा २५ प्रतिशतसम्म कर लागू गरिएको छ।
अमेरिकी निर्णयको जवाफमा क्यानाडाले पनि अमेरिकी स्टील, एल्युमिनियम र सवारीसाधनमा प्रतिशुल्क लगाइसकेको छ। दुई देशबीच बढ्दो व्यापार तनावले उत्तर अमेरिकाको व्यापार सम्बन्धमा थप प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।




