२०८३ श्रावण १०

भ्याट र प्यान बिल लिने ग्राहकलाई लखपति बनाउने सरकारको योजना

काठमाडौं । सरकारले कर प्रणालीमा आबद्ध नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले बिल लिने ग्राहकलाई लक्षित गर्दै लखपति योजना सञ्चालन गर्ने भएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध कारोबारमा सहभागी नागरिकलाई योजनामा समेटिने अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १०० रुपैयाँभन्दा बढीको खरिद वा सेवा कारोबार गर्दा अनलाइन वा नगद भुक्तानी गरी आधिकारिक बिल लिने ग्राहकहरू यस योजनामा सहभागी हुन सक्नेछन्। ग्राहकले सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टमा सेवा लिएपछि अनिवार्य रूपमा सक्कली बिल लिनुपर्ने मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयका अनुसार ग्राहकले प्राप्त गरेको बिल नम्बर नै लखपति योजनाका लागि छनोट हुने आधार हुनेछ। यसमार्फत उपभोक्तालाई बिल लिने बानीको विकास गराउँदै कर प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने सरकारको उद्देश्य रहेको छ।

योजना कार्यान्वयनअन्तर्गत हाललाई प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी दुई पटक लखपति योजनाका विजेता घोषणा गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले उपभोक्तालाई कारोबार गर्दा अनिवार्य रूपमा आधिकारिक बिल लिन र कर प्रणालीमा सहयोग गर्न आग्रह गरेको छ।