काठमाडौं।अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा पाँच वटा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएका हुन्।
प्रहरीका अनुसार इलाममा मेची राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर र दार्चुलामा महाकाली राजमार्ग अवरुद्ध भएका छन्।
वर्षाका कारण पहाडी तथा नदी आसपासका क्षेत्रमा पहिरो र बाढीको जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउने तथा यातायात सहज बनाउने प्रयास भइरहेको भए पनि मौसम प्रतिकूल रहेकाले थप जोखिम रहन सक्ने बताइएको छ।
प्रहरीले सर्वसाधारणलाई यात्रा गर्नुअघि सम्बन्धित निकायबाट पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। विशेषगरी पहिरोको जोखिम भएका पहाडी सडक, नदी किनार र कमजोर भू–भाग हुँदै यात्रा गर्दा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।




