काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रमा बारम्बार हुने डुबानको वास्तविक प्राविधिक कारण पत्ता लगाई विस्तृत प्रतिवेदन पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। मंगलबार स्थलगत अनुगमनका क्रममा उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), डिभिजन सडक कार्यालय काठमाडौं तथा महानगरपालिकाका सम्बन्धित विभागका अधिकारीहरूलाई संयुक्त अध्ययन गरी समाधानसहितको प्रतिवेदन तयार गर्न आग्रह गरिन्। अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, महानगरको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग र महानगर प्रहरी बलका प्रतिनिधिहरू पनि सहभागी थिए। प्रारम्भिक अध्ययनमा माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको मुख्य ढल रहेको तर निकासतर्फ ६० सेन्टिमिटरको मात्रै ढल भएकाले पानीको बहाव अवरुद्ध भई डुबान हुने देखिएको छ। यद्यपि, प्राविधिकहरूले भवन तथा अन्य पूर्वाधार निर्माणका कारण ढल निकास प्रणाली प्रभावित भएको हुन सक्ने अनुमान पनि गरेका छन्। कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासन तथा पूर्वाधार निर्माण र सेवा वितरणसँग सम्बन्धित सबै निकायको समन्वयमा माइतीघर मण्डला क्षेत्रलाई दीर्घकालीन रूपमा डुबानमुक्त बनाइने बताइन्।




