२०८३ भाद्र ३०

मेची भन्सारको राजस्व ११ प्रतिशतले बढ्यो, वार्षिक लक्ष्य भने अपूरो

काठमाडौं । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२/८३ मा कुल १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा एक अर्ब ७४ करोड ६० लाख ४५ हजार रुपैयाँ बढी हो, जसअनुसार कार्यालयको राजस्व संकलनमा करिब ११ प्रतिशतले वृद्धि भएको देखिएको छ।

राजस्व संकलनमा उल्लेखनीय वृद्धि भए पनि मेची भन्सार कार्यालयले सरकारले निर्धारण गरेको वार्षिक लक्ष्य भने पूरा गर्न सकेन। आर्थिक वर्ष २०८२/८३ का लागि कार्यालयलाई १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो। तर, वर्षभरमा कार्यालयले १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ मात्रै संकलन गर्न सफल भएकाले लक्ष्यको करिब ९३ प्रतिशत मात्र हासिल भएको मेची भन्सार कार्यालयले जनाएको छ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा मेची भन्सार कार्यालयले १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यसको तुलनामा पछिल्लो आर्थिक वर्षमा राजस्व असुलीमा उल्लेखनीय सुधार देखिएको भए पनि निर्धारित लक्ष्यसम्म पुग्न भने सफल हुन सकेन।

पूर्वी नेपालको प्रमुख आयात–निर्यात नाकामध्ये एक मानिने मेची भन्सार कार्यालय हुँदै नेपालबाट चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पीलगायत कृषिजन्य वस्तु भारतसहित विभिन्न बजारमा निर्यात हुने गरेका छन्। त्यसैगरी भारतबाट पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक कच्चा पदार्थ र सामग्री यही नाका हुँदै नेपाल भित्रिने गरेका छन्, जसका कारण यो नाका पूर्वी नेपालको व्यापार तथा राजस्व संकलनका दृष्टिले महत्वपूर्ण मानिन्छ।