२०८३ श्रावण १०

सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट बाहिरिन सबै निकायको सहकार्य आवश्यक: महालेखापरीक्षक राय

काठमाडौं महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को दशौँ परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथग्रहण कार्यक्रममा बोल्दै रायाले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को निगरानी सूचीमा नेपाल परेकाले यसबाट बाहिरिन सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए।

उनले चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले पनि इमान्दारीपूर्वक लेखापरीक्षणलगायतका जिम्मेवारी पूरा गरेर नेपाललाई ग्रे लिस्टबाट हटाउन महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख गरे।

“चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले पनि इमान्दारीपूर्वक लेखापरीक्षणलगायत काम गरेर नेपाललाई ग्रे लिस्टबाट हटाउन महत्वपूर्ण सहयोग गर्न सक्छ। यसमा संस्थाले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेको छु,” उनले भने।

महालेखापरीक्षक रायाले लेखापरीक्षण तथा अन्य वित्तीय गतिविधिमा देखिन सक्ने विकृति र विसङ्गतिलाई निष्पक्ष रूपमा उजागर गर्न आग्रह गरे। उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासम्बन्धी ऐन समयअनुकूल नभएकाले आवश्यक संशोधन प्रक्रिया अघि बढाइने जानकारी दिए।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र सार्वजनिक कम्पनीहरूको लेखापरीक्षण निष्पक्ष र विश्वसनीय बनाउन आग्रह गरे।

निवर्तमान अध्यक्ष सिए नीलबहादुर सारु मगरले आफ्नो कार्यकालमा संस्थाको गरिमा र व्यावसायिकता अभिवृद्धिका लागि काम गरेको बताए।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेलाई ‘प्रेसिडेन्ट मेडल’ हस्तान्तरण गर्दै पदभार ग्रहण गराइएको थियो। अध्यक्ष वाग्लेले संस्थाको स्थापनाकालदेखि कायम व्यावसायिक मूल्य र मान्यतालाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, नवनिर्वाचित उपाध्यक्ष सिए हेमकुमार काफ्लेले पनि शपथ लिएका छन्। उनले लेखापरीक्षणलगायत वित्तीय गतिविधिलाई थप विश्वसनीय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।