काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी, पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंशलगायतका विपद्को जोखिम उच्च हुने भएकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले जनधनको सुरक्षा गर्न पूर्वसावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ। वर्षाको समयमा यात्रा गर्दा चनाखो रहन, ठूलो पानी परेको बेला सकेसम्म रातको समयमा यात्रा नगर्न तथा बाढी आएको अवस्थामा खोला, खोल्सा र नदी तर्ने प्रयास नगर्न भनिएको छ।
जोखिमयुक्त पुल तथा खोलाको किनारामा उभिएर फोटो तथा भिडियो नखिच्न, पैदलयात्रा तथा ‘हाइकिङ’मा सकेसम्म एक्लै नजान र विपद्को संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान प्राधिकरणले आग्रह गरेको छ। आवश्यक परे स्थानीय प्रशासन र सुरक्षाकर्मीसँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
प्राधिकरणले वर्षाको समयमा खोला वा नदीमा काठ–दाउरा संकलन गर्न, माछा मार्न वा पौडी खेल्न नजान तथा पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक आवतजावत नगर्न सचेत गराएको छ।
यस्तै, घर वरपर रहेका ढल तथा नाली सफा राख्न, बर्खाको समयमा सर्पदंशको जोखिम बढ्ने भएकाले घर वरिपरिको वातावरण सफा राख्न र राति बाहिर निस्कँदा टर्च लाइट प्रयोग गर्न आग्रह गरिएको छ।
चट्याङ पर्ने सम्भावना देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान, महत्वपूर्ण कागजात, अत्यावश्यक औषधि र नबिग्रने खानेकुरा एउटा झोलामा सुरक्षित राख्न प्राधिकरणले सुझाव दिएको छ। साथै मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री चार्ज गरेर राख्न पनि अनुरोध गरिएको छ।
प्राधिकरणले अफवाहको पछि नलाग्न, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न तथा मौसम र विपद्सम्बन्धी सूचना नियमित रूपमा हेर्न र सुन्न सचेत गराएको छ।
विपद्सम्बन्धी सूचना तथा उद्धारका लागि १२३४, १०० र १११४ तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।
यस वर्षको मनसुन गत असार ५ गतेदेखि सुरु भएको हो। विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र पूर्वतयारी अपनाउन प्राधिकरणले निरन्तर आग्रह गर्दै आएको छ।
यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्का घटना भएका छन्। प्राधिकरणका अनुसार ती घटनाबाट करिब १३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ। विपद्मा परी तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार साउन ५ गते बिहानदेखि साउन ६ गते बिहानसम्म सर्पदंश र आगलागीका आठ–आठ वटा घटना भएका छन्। यस्तै, बाढीका दुई, पहिरोका १४, अविरल वर्षाका आठ, जनावर आक्रमणका तीन र हावाहुरीको एक घटना भएको छ।




