काठमाडौं। अमेरिका र साउदी अरेबियाबीच शान्तिपूर्ण उद्देश्यका लागि नागरिक आणविक ऊर्जा कार्यक्रम विकास गर्ने सम्बन्धी ऐतिहासिक सम्झौता भएको छ। सम्झौताले साउदी अरेबियाको आणविक ऊर्जा क्षेत्रमा अमेरिकी कम्पनीहरूको सहभागिताको बाटो खोल्ने बताइएको छ।
अमेरिकी ऊर्जा विभागका अनुसार यो सहकार्य सम्झौतासँगै दुवै देशबीच द्विपक्षीय सुरक्षा सम्झौता पनि भएको छ। यी सम्झौताले आगामी दशकसम्म अर्बौं डलर बराबरको साझेदारीका लागि कानुनी आधार तयार गर्ने र आणविक अप्रसार तथा रणनीतिक एवं आर्थिक सहकार्यलाई अघि बढाउने उद्देश्य राखेको जनाइएको छ।
सम्झौताको पूर्ण विवरण सार्वजनिक गरिएको छैन। अमेरिकी सञ्चारमाध्यमहरूले भविष्यमा साउदी अरेबियालाई आफ्नै भूमिमा युरेनियम समृद्ध गर्ने अनुमति दिन सकिने सम्भावना रहेको उल्लेख गरेका छन्। युरेनियम समृद्ध गर्ने प्रविधि आणविक ऊर्जा उत्पादनका लागि प्रयोग हुने भए पनि यसबाट आणविक हतियार निर्माणको जोखिमसमेत रहने भएकाले विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
विशेषज्ञहरूका अनुसार साउदी अरेबियालाई युरेनियम समृद्ध गर्ने अनुमति दिइएमा यो अमेरिकाले दिएको पहिलो यस्तो अनुमति हुन सक्नेछ। यसले मध्यपूर्वमा आणविक हतियार विस्तारको जोखिम बढाउन सक्ने चेतावनीसमेत दिइएको छ।
साउदी सरकारले यो सम्झौता ऊर्जा क्षेत्रमा दुई देशबीच भइरहेको लामो समयदेखिको सहकार्यको विस्तार भएको जनाएको छ। गत वर्ष नोभेम्बरमा साउदी युवराज मोहम्मद बिन सलमानको वासिङ्टन भ्रमणपछि दुई देशबीचको सम्बन्ध थप मजबुत भएको उल्लेख गरिएको छ।
यो सम्झौता अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच सार्वजनिक भएको हो। साउदी अरेबियामा रहेका अमेरिकी सैन्य अड्डा र क्षेत्रीय सुरक्षा अवस्थाले पनि यो सम्झौतालाई रणनीतिक रूपमा महत्वपूर्ण बनाएको छ।




