काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१८, सेदीमा आज बिहान हिँडिरहेको अवस्थामा अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।
स्थानीयवासीको सहयोगमा उनलाई तत्काल उद्धार गरी मेट्रोसिटी अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा केहीबेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। मृत्युको यकिन कारण पोष्टमार्टम प्रतिवेदनपछि खुल्ने प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मृतक जोन्स विगत एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बसोबास गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




