काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा बन्द भएको छ।
आज ३६० वटा कम्पनीको १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर ६ अर्ब ८ करोड ८ लाख ६३ हजार ३५४ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। कारोबारमा सहभागीमध्ये ३६ कम्पनीको सेयर मूल्य बढ्दा २३४ कम्पनीको घटेको छ भने पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सबैभन्दा धेरै लाभ गर्ने कम्पनी बनेको छ। यता आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १३.३८ प्रतिशतले घटेर सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ।
कारोबार रकमका आधारमा रियालन्स स्पिनिङ्स मिल्स शीर्ष स्थानमा रह्यो। कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि ग्लोबल आईएमई बैंकको २८ करोड रुपैयाँ, रिडी पावरको २२ करोड रुपैयाँ, कुमारी बैंकको १७ करोड रुपैयाँ र सेन्ट्रल फाइनान्सको १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
समूहगत सूचकतर्फ बैंकिङ र म्युचुअल फन्डबाहेक सबै उपसूचक ओरालो लागेका छन्।



