काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउने तयारीस्वरूप पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। विद्युत्को अधिकतम उपयोग, आन्तरिक खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यले प्राधिकरण सञ्चालक समितिले अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो।
बुधबार बसेको सञ्चालक समितिको बैठकले हालको विद्युत् महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समयसीमा दिँदै समिति गठन गरेको जनाएको छ। समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत् नियमन आयोगसमक्ष आवश्यक प्रक्रिया अघि बढाइनेछ।
सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार पछिल्ला वर्षमा जलविद्युत् उत्पादन उल्लेखनीय रूपमा बढेको भए पनि वर्षायाममा उत्पादित सबै विद्युत् आन्तरिक रूपमा खपत हुन नसकेको अवस्था छ। यही कारण घरायसी तथा औद्योगिक क्षेत्रमा विद्युत् खपत बढाउने लक्ष्यसहित महसुल संरचनामा सुधारको तयारी गरिएको उनले बताए।
प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत उपलब्ध गराउने तथा बढी विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई सहज र उपयुक्त दरमा विद्युत् उपलब्ध गराउने योजना बनाएको छ। यसबाट उपभोक्ताको मासिक विद्युत् खर्च घट्नुका साथै उद्योगहरूको उत्पादन लागत पनि कम हुने अपेक्षा गरिएको छ।
महसुल पुनरावलोकनका लागि सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जा तथा विद्युत् क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।
यसैबीच, सञ्चालक समितिले विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा प्राप्त उजुरी–गुनासोको अध्ययन गर्न छुट्टै छानबिन समिति पनि गठन गरेको छ।
सञ्चालक समिति सदस्य शम्भु केसीको संयोजकत्वमा गठित उक्त समितिमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य–सचिव रहनेछन्।
छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा प्राप्त उजुरीको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।




