२०८३ श्रावण १४

अमेरिका–इरान तनाव चर्कियो, इरानी सैन्य अखडामा अमेरिकी हवाई हमला

काठमाडौं । अमेरिकी सेनामाथि ब्यालिस्टिक मिसाइल आक्रमणको प्रयासको जवाफस्वरूप अमेरिकाले बुधबार इरानका विभिन्न सैन्य अखडामा हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार इरानको सैन्य संरचनालाई लक्षित गरी गरिएको उक्त कारबाही अमेरिकी फौजमाथिको आक्रमण प्रयासको प्रत्युत्तर भएको जनाएको छ।

सेन्टकमका अनुसार मंगलबार इरानले जोर्डनस्थित अमेरिकी सैन्य बेस तथा होर्मुज जलडमरूमध्य क्षेत्रमा रहेका जहाजहरूलाई लक्षित गर्दै आक्रमणको प्रयास गरेको थियो। त्यसपछि अमेरिकाले इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) का दर्जनौँ सैन्य अखडामा हवाई प्रहार गरेको जनाएको छ।

अमेरिकी सेनाले गरेको उक्त हमला पूर्वीय समयअनुसार बुधबार साँझ ८ः०० बजे सुरु भएको र करिब एक घण्टासम्म चलेको बताइएको छ। सेन्टकमले इरानबाट प्रहार गरिएका सबै मिसाइल आकाशमै निष्क्रिय पारिएको दाबी गरेको छ।

अमेरिकी सेनाका अनुसार आक्रमणका क्रममा इरानका सैन्य कमान्ड सेन्टर, मिसाइल तथा ड्रोन निर्माण र भण्डारण केन्द्र, तटीय निगरानी तथा रक्षा प्रणाली र समुद्री सैन्य क्षमतासँग सम्बन्धित संरचनालाई मुख्य निशाना बनाइएको थियो।

हवाई हमला हुनुअघि ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा जवाफी कारबाही गर्ने संकेत दिएका थिए। उनले अमेरिकाले आफ्नो सुरक्षाका लागि कडा कदम चाल्ने बताएका थिए।

इरानको जवाफी दाबी

यता, इरानले भने अमेरिकी आक्रमणको जवाफमा जोर्डनस्थित अमेरिकी एयर बेस र कमान्ड सेन्टरलाई लक्षित गरेको दाबी गरेको छ। साथै, होर्मुज जलडमरूमध्यमा चेतावनी बेवास्ता गरेका तीनवटा तेल ट्याङ्करमाथि आफ्नो नौसैनिक टोलीले कारबाही गरेको जानकारी दिएको छ।

यसअघि सेन्टकमले पछिल्लो ७२ घण्टामा भएका ३० भन्दा बढी इरानी ड्रोन आक्रमणको जवाफस्वरूप अमेरिका र साउदी अरबको संयुक्त बलले पूर्वी इराकमा रहेका हतियार भण्डारण तथा लजिस्टिक केन्द्रमा हमला गरेको जनाएको थियो।

उक्त हमलामा आफ्ना कम्तीमा २० सदस्य मारिएको इराकको प्यारामिलिटरी समूह ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ) ले जनाएको छ। इराकी राष्ट्रपति कार्यालयले उक्त कारबाहीलाई इराकको सार्वभौमसत्तामाथिको उल्लङ्घन भन्दै विरोध गरेको छ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने उक्त हमला इराकी सरकारसँगको समन्वयमा गरिएको दाबी गरेका छन्।

क्षेत्रीय तनाव थप बढ्ने चिन्ता

अमेरिका र इरानबीचको पछिल्लो सैन्य तनावले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्ने चिन्ता बढाएको छ। यसअघि अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गरेपछि द्वन्द्व छोटो समयमै अन्त्य हुने अनुमान गरिए पनि महिनौँ बितिसक्दा समेत तनाव समाधानतर्फ गएको देखिएको छैन।

विशेषगरी होर्मुज जलडमरूमध्य, सैन्य अखडा र क्षेत्रीय सहयोगी समूहहरूलाई लिएर भइरहेका गतिविधिले मध्यपूर्वमा ठूलो सैन्य टकरावको जोखिम बढाएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।