काठमाडौं । ग्रिसको क्रिट टापुस्थित रेथिम्नो क्षेत्रमा फैलिएको भीषण जंगल डढेलो नियन्त्रण गर्ने क्रममा दुई जना अग्निनियन्त्रकको मृत्यु भएको छ। आगो निभाउने अभियानमा खटिएका उनीहरू डढेलोको घेरामा परेपछि ज्यान गुमाएको दमकल विभागले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार क्रिट टापुका विभिन्न स्थानमा एकैपटक आगलागी भएको थियो। तीमध्ये सबैभन्दा ठूलो डढेलो क्षेत्र करिब १५ किलोमिटरसम्म फैलिएको बताइएको छ। रेथिम्नो सहर नजिकैको पश्चिमी क्षेत्रमा आगो नियन्त्रणमा खटिएका दुई कर्मचारीको मृत्यु भएको हो।
तीव्र गतिमा चलेको हावाका कारण आगोका लप्का थप फैलिँदा स्थानीय प्रशासनले जोखिममा रहेका धेरै गाउँ खाली गराएको छ। गर्मीयाममा दक्षिण युरोपमा देखिने जंगल डढेलोको श्रृङ्खलामध्ये क्रिटको यो घटना पछिल्लो ठूलो दुर्घटना बनेको छ।
ग्रिसका अन्य क्षेत्रमा पनि जंगल डढेलो फैलिएको छ। एजियन सागरमा रहेका पारोस र लेसबोस टापुका साथै मुख्य भूभागमा पर्ने दक्षिणी सहर ट्रिफिलियामा समेत आगलागी जारी रहेको बताइएको छ। अग्निनियन्त्रक टोलीहरू आगो नियन्त्रण तथा प्रभावित क्षेत्रको सुरक्षा व्यवस्थापनमा निरन्तर खटिरहेका छन्।
यसैबीच, दक्षिणी टर्कीको मुग्ला प्रान्तमा लागेको डढेलोले पनि जनजीवन प्रभावित बनाएको छ। आगो नियन्त्रणका लागि फेथियेबाट अन्ताल्या जोड्ने मुख्य राजमार्ग बन्द गरिएको छ भने सुरक्षाका लागि एक अस्पतालका केही भाग खाली गराइएको छ।
यता, स्पेन र फ्रान्समा यो गर्मीयामको चौथो ‘हिटवेभ’ अर्थात् अत्यधिक गर्मीको लहर सुरु भएको छ। उच्च तापक्रम, सुख्खा मौसम र तीव्र हावाका कारण जंगलमा आगलागीको जोखिम बढेको छ। यसअघि नियन्त्रणमा ल्याइएका डढेलो पुनः फैलिन नदिन अग्निनियन्त्रक टोलीहरू निरन्तर निगरानीमा छन्।
स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले राजधानी मड्रिड नजिकै फैलिएको डढेलो नियन्त्रणका लागि आगामी १२ घण्टा निकै महत्त्वपूर्ण हुने बताएका छन्। स्पेनको एभिला प्रान्तस्थित बुर्गोहोंडो क्षेत्रमा मात्रै हालसम्म ४३ हजार हेक्टरभन्दा बढी जमिन डढेलोका कारण नष्ट भएको छ। उक्त क्षेत्र मड्रिडबाट करिब १५० किलोमिटर पश्चिममा पर्छ।
यस वर्ष स्पेनमा मात्र डढेलोका कारण २ लाख ७ हजार हेक्टरभन्दा बढी क्षेत्र प्रभावित भइसकेको बताइएको छ। पछिल्लो अवस्थालाई स्पेनको इतिहासकै सबैभन्दा ठूलो डढेलो घटनामध्ये एकका रूपमा हेरिएको छ।
जलवायु परिवर्तन, बढ्दो तापक्रम र लामो समयसम्म रहने सुख्खा अवस्थाका कारण दक्षिण युरोपका विभिन्न देशमा पछिल्ला वर्षहरूमा जंगल डढेलोको जोखिम बढ्दै गएको विज्ञहरूले चेतावनी दिएका छन्।




