काठमाडौं। अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लामा रहेका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ७ः५० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केही सडकमा जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। वर्षाका कारण सडकमा जोखिम बढ्न सक्ने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
यसैगरी, कान्तिलोकपथमा पनि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। उक्त सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न नदिइएको प्रहरीले जनाएको छ। ललितपुरको बागमती गाउँपालिका–३ क्षेत्रमा सुक्खा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा लगातारको वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक खण्डमा खोलाको बहावले सडक कटान गरेपछि यातायात प्रभावित भएको छ। सो सडकमा तत्काल सवारी सञ्चालन गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडक खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि उक्त मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। नदीको बहाव बढेका कारण सडकमा थप क्षति हुन सक्ने जोखिम रहेको छ।
यस्तै, जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानीखोलामा आएको बाढीले सडक कटान गर्दा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। वर्षा निरन्तर भइरहेकाले पहाडी तथा नदी किनारका सडकमा थप जोखिम बढ्न सक्ने अनुमान गरिएको छ।
नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च हुने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था जानकारी लिन आग्रह गरेको छ। प्रहरीले सुरक्षित यात्राका लागि मौसमको अवस्था हेरेर मात्र यात्रा गर्न, जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।



