काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार तथा विकासलाई प्राथमिकता दिँदै १२ वटा विद्यालयका लागि ६२ करोड २८ लाख रुपैयाँ बराबरको लगानी गर्ने प्रक्रिया अघि बढाएको छ।
महानगरपालिकाको शिक्षा विभागका अनुसार विद्यालयको भौतिक अवस्था सुधार गर्न विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम र पूर्वाधारको आवश्यकतालाई आधार बनाएर बजेट विनियोजन गरिएको हो।
सहरी योजना आयोगले गरेको अध्ययनका आधारमा विद्यालयको पूर्वाधार निर्माणका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाइएको शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिए। उनका अनुसार प्रत्येक विद्यालयको भौगोलिक अवस्थिति, विद्यार्थी संख्या र उपलब्ध जग्गाको अनुपातसँगै बाढीलगायत प्राकृतिक जोखिमको समेत अध्ययन गरेर लगानी प्रस्ताव तयार पारिएको हो।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी र समयअनुकूल बनाउन पूर्वाधारमा लगानी बढाइएको बताइन्। उनका अनुसार बालमैत्री सिकाइ वातावरण, प्रविधिमैत्री कक्षाकोठा, वातावरणीय सुधार, विद्यालयको सौन्दर्यीकरण तथा प्रयोगात्मक अभ्यासका अवसरलाई प्राथमिकता दिइएको छ।
शिक्षा विभागका महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार विभिन्न विद्यालयको निर्माण तथा मर्मतसम्भारका लागि खरिद प्रक्रिया अघि बढिसकेको छ।
वडा नम्बर १४ स्थित जनविकास माध्यमिक विद्यालय र वडा नम्बर २८ स्थित पद्मोदय माध्यमिक विद्यालयको भवन निर्माण प्रक्रिया अघि बढाइएको छ। जनविकासका लागि ५ करोड ६७ लाख ६८ हजार ८६२ रुपैयाँ तथा पद्मोदयका लागि १५ करोड ३५ लाख ७४ हजार रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, सार्वजनिक निर्माण विभागमार्फत छवटा विद्यालयको पूर्वाधार निर्माणका लागि खरिद प्रक्रिया अघि बढाइएको छ। वडा नम्बर २४ स्थित श्री कान्ति ईश्वरी राज्यलक्ष्मी आधारभूत विद्यालयका लागि ५ करोड ५७ लाख ४९ हजार रुपैयाँ र वडा नम्बर २६ स्थित शान्ति विद्यागृह माध्यमिक विद्यालयको भवन निर्माणका लागि ८ करोड ५७ लाख ४२ हजार रुपैयाँ छुट्याइएको छ।
वडा नम्बर २९ स्थित अटिजम स्कुलका लागि १० करोड ९१ लाख ७९ हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, १ करोड ८३ लाख २९ हजार रुपैयाँको लागतमा दरबार हाई स्कुलमा बहुउद्देश्यीय सभाकक्ष निर्माण गरिनेछ।
महेन्द्र माध्यमिक विद्यालय, बौद्धको मर्मतसम्भारका लागि ८४ लाख १२ हजार रुपैयाँ छुट्याइएको छ। कन्या माध्यमिक विद्यालयमा छात्रावास तथा कक्षाकोठा निर्माणका लागि ९ करोड ६२ लाख ५४ हजार रुपैयाँको लागतमा खरिद प्रक्रिया सुरु भइसकेको शिक्षा विभागले जनाएको छ।
महानगरपालिकाले विद्यालयको पूर्वाधारसँगै सिकाइ वातावरणलाई समेत सुधार गर्दै सामुदायिक विद्यालयमा गुणस्तरीय र समान शैक्षिक सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।




