२०८३ भाद्र ८

वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध, केही सडकखण्डमा राति सवारी सञ्चालनमा रोक

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः०० बजेसम्म जारी गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन्।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न नपाइने जनाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग रहेको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ भने सोही वडाको लिपिङमा सडक भासिएपछि राजमार्गको आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीको कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

वर्षाका कारण सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले प्रहरीले यात्रुलाई आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ। सडकको अवस्था बुझेर यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न पनि सम्बन्धित निकायले अनुरोध गरेको छ। विशेषगरी रातिको समयमा बाढी, पहिरो तथा नदी कटानको जोखिम बढ्न सक्ने भएकाले प्रभावित सडकखण्डमा अनावश्यक यात्रा नगर्न र सम्बन्धित निकायबाट जारी हुने पछिल्लो सूचना हेरेर मात्र यात्रा गर्न यात्रुलाई आग्रह गरिएको छ।