२०८३ भाद्र ९

आतङ्कवादका पीडितको सम्झना र सम्मानमा आज अन्तर्राष्ट्रिय दिवस

काठमाडौं। आतङ्कवादबाट प्रभावित तथा पीडित व्यक्तिको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षण गर्ने उद्देश्यले आज ‘आतङ्कवादका पीडितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट २१ मा यो दिवस मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१७ मा आतङ्कवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र आवश्यक सहयोग उपलब्ध गराउँदै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउने निर्णय गरेको थियो।

संयुक्त राष्ट्रसंघले आतङ्कवादका पीडितको अधिकार र आवश्यकतालाई अन्तर्राष्ट्रियस्तरमा प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिँदै आएको छ। महासचिव एन्टोनियो गुटेरेसले सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ गर्नुपर्ने उल्लेख गरिएको थियो।

संयुक्त राष्ट्रसंघको विश्वव्यापी आतङ्कवादविरोधी रणनीतिको समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतङ्कवाद तथा हिंसात्मक अतिवाद रोकथामसँगै पीडितको मानव अधिकार संरक्षण र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकतामा जोड दिँदै आएका छन्।

सन् २०१९ मा ‘ग्रुप अफ फ्रेन्ड्स अफ भिक्टिम्स अफ टेरोरिजम’ स्थापना हुनु तथा पीडितलाई सहयोगसम्बन्धी महासभाका विभिन्न प्रस्ताव पारित हुनु यस क्षेत्रमा भएका महत्वपूर्ण पहलका रूपमा लिइन्छ। पछिल्ला वर्षहरूमा पीडितप्रतिको सहयोग औपचारिक ऐक्यबद्धतामा मात्र सीमित नरही उनीहरूको अधिकार, सुरक्षा र दीर्घकालीन आवश्यकतालाई सम्बोधन गर्ने दिशामा केन्द्रित हुँदै आएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

सन् २०२३ मा पारित महासभाको आठौँ समीक्षा प्रस्तावले विशेषगरी महिला, बालबालिका तथा आतङ्कवादी हिंसाबाट हुने यौन र लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको अधिकार तथा आवश्यकतालाई प्राथमिकतामा राख्न सदस्य राष्ट्रलाई आग्रह गरेको थियो। साथै, पीडित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता पूरा गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना निर्माण गर्न प्रोत्साहित गरिएको थियो।

संयुक्त राष्ट्रसंघले सन् २०२२ मा पहिलो विश्वव्यापी आतङ्कवाद पीडित सम्मेलन आयोजना गरेको थियो। राष्ट्रसंघीय आतङ्कवादप्रतिरोध कार्यालयले पीडित सहायता कार्यक्रम तथा ‘युनाइटेड नेसन्स भिक्टिम्स अफ टेरोरिजम सपोर्ट पोर्टल’मार्फत पीडितका अधिकार र आवश्यकताबारे विश्वव्यापी रूपमा सचेतना अभिवृद्धि गर्दै आएको छ।