काठमाडौं। म्याग्दीमा आर्थिक वर्ष २०८२/८३ मा उत्पादित आलु र सुन्तलाबाट ७३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कृषि विकास कार्यालयका अनुसार उक्त अवधिमा ३३ हजार १२० मेट्रिक टन आलु र ४ हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।
| कृषि उपज | उत्पादन | कारोबार |
|---|---|---|
| आलु | ३३,१२० मेट्रिक टन | रु. ४० करोड |
| सुन्तला | ४,५१५ मेट्रिक टन | रु. ३३ करोड ८६ लाख |
| जम्मा | ३७,६३५ मेट्रिक टन | रु. ७३ करोड ८६ लाख |
आलु १ हजार ८४० हेक्टर र सुन्तला ४३० हेक्टरमा खेती गरिएको थियो। औसतमा आलु प्रतिकिलो ३० रुपैयाँ र सुन्तला ७५ रुपैयाँमा बिक्री भएको कार्यालयले जनाएको छ। अघिल्लो वर्षको तुलनामा सुन्तलाको उत्पादन सामान्य रहे पनि वैशाख–जेठमा परेको असिनाका कारण आलु उत्पादनमा करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
म्याग्दीमा उत्पादित आलु र सुन्तला बेनीसँगै पोखरा, काठमाडौं, चितवनलगायतका बजारमा बिक्री हुँदै आएका छन्। सडक पहुँच विस्तारसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारसम्म पुर्याउन सहज भएको कृषि विकास कार्यालयको भनाइ छ।
कृषि प्रवर्द्धनमा सरकारी लगानी
आलु र सुन्तलाको उत्पादन तथा बगैँचा विस्तारका लागि कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। गत आर्थिक वर्ष तीन तहका सरकारले कृषि क्षेत्रमा ९ करोड ३९ लाख ८३ हजार रुपैयाँ विनियोजन गरेकामा ६ करोड ७८ लाख ६७ हजार रुपैयाँ खर्च भएको थियो।
आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत ८०० परिवारलाई ७०० रोपनीमा खेती गर्न ३९ लाख ७० हजार रुपैयाँ अनुदान दिइएको थियो। यसबाट १ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको कार्यालयले जनाएको छ। त्यस्तै, ३२ वटा कृषि फार्मलाई १९ लाख २९ हजार रुपैयाँ सहयोग गरी ५९९ रोपनी क्षेत्रफलका सुन्तला बगैँचामा मलखाद, सिँचाइ, औजार तथा यान्त्रिकीकरणमा काम गरिएको थियो।
चालु कार्यक्रमअन्तर्गत फलफूल बगैँचा विस्तार तथा सुदृढीकरणका लागि ४२ लाख र खायन आलु प्रवर्द्धनका लागि ३३ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
किसानहरूले भने कृषि उपजको बजार व्यवस्थापन, सिँचाइ, गुणस्तरीय बीउबिजन, जनशक्ति तथा बाँदरको समस्यालाई प्राथमिकताका साथ समाधान गर्नुपर्ने माग गरेका छन्। प्रदेश सरकारले कृषि कार्यक्रमलाई किसानमुखी बनाउँदै उत्पादनसँगै बजारीकरण र पूर्वाधार विकासमा ध्यान दिने जनाएको छ।




