काठमाडौं । अमेरिकाको अलास्कामा आठ जना सवार चार्टर विमान दुर्घटनामा परेको छ। दुर्घटनापछि विमानमा रहेका दुई पाइलट र छ यात्रुको अवस्था अज्ञात रहेको अधिकारीहरूले बताएका छन्।
पश्चिमी अलास्काको दुर्गम क्षेत्रमा विमान दुर्घटनामा परेको हो। अमेरिकी अधिकारीहरूका अनुसार विमान एन्कोरेजबाट केप न्युवेनहमतर्फ उडेको थियो।
प्रारम्भिक विवरणअनुसार गन्तव्यमा पुगेर अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो। दुर्घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले खोजी तथा उद्धार कार्यमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्।
नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनले विमानमा दुई पाइलट र छ यात्रु गरी आठ जना सवार रहेको पुष्टि गरेका छन्।
दुर्घटनाको कारणबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान तथा खोजी कार्य अघि बढाएका छन्।




