काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह तीन दिने निजी भ्रमण सकेर आज काठमाडौं फर्किने भएका छन्। प्रधानमन्त्री शाह शुक्रबार पोखरा पुगेका थिए भने शनिबार सडकमार्ग हुँदै मुस्ताङ पुगेका थिए। आइतबार मुस्ताङबाट पोखरा फर्किएका उनी सोमबार काठमाडौं फर्किन लागेका हुन्।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्री शाहको भ्रमण नितान्त पारिवारिक भएकाले त्यसबारे प्रशासनलाई समेत विस्तृत जानकारी नरहेको बताए। उनका अनुसार प्रधानमन्त्री शाह सोमबार पोखराबाट काठमाडौं फर्किने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले निजी भ्रमणका क्रममा शनिबार मुक्तिनाथ मन्दिरको दर्शनसमेत गरेका थिए। उनी काठमाडौंँदेखि सडकमार्ग हुँदै मुस्ताङ पुगेका थिए। निजी भ्रमण भएकाले प्रधानमन्त्री सहभागी हुने कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाह शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बसेका थिए। आइतबार पनि उनी पोखराकै एक रिसोर्टमा बसेको बताइएको छ। परिवारका सदस्यसहित निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री शाहको तीन दिने गण्डकी भ्रमण सोमबार काठमाडौं फर्किएसँगै टुंगिनेछ।




