२०८३ भाद्र ८

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत् उत्पादनको तयारी

काठमाडौं । म्याग्दीको ४० मेगावाट क्षमताको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम पूरा भएसँगै विद्युत् उत्पादनको तयारी अघि बढाइएको हो ।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजनाको बाँध, डिसेन्डर, सुरुङ र स्विचयार्डको परीक्षण सफल भइसकेको छ । २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षणसमेत पूरा भइसकेको छ भने अर्को २० मेगावाट क्षमताको युनिटको परीक्षण आइतबारदेखि सुरु गरिएको छ । दुवै युनिटको परीक्षणका लागि एक सातादेखि १० दिनसम्म लाग्ने र त्यसपछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको उनले बताए ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा निर्माण गरिएको बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुई वटा पानी थिग्र्याउने पोखरीको परीक्षण पूरा भइसकेको छ । तिल्केनीचौरमा निर्माण गरिएको विद्युत्गृहमा जडान गरिएका उपकरणको परीक्षणसमेत भइरहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोड्न विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आइसकेको छ । राहुघाटबाट उत्पादन हुने विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिनेछ । यसका लागि आवश्यक चार वटा टावर र प्रसारण लाइन निर्माणको काम पनि पूरा भएको छ ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित २०७४ मङ्सिर ६ गते अर्थात् सन् २०१७ नोभेम्बर १७ मा करिब छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर कोरोना महामारी, बाढी, पहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण आयोजना निर्माणमा ढिलाइ भएको जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए ।

आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारूपमा आयोजना निर्माण गरिएको हो ।

यसअघि कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का सम्झौता तोडिएको थियो । आइभिआरसिएलसँग २०६६ सालमा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । त्यसपछि नयाँ प्रक्रियाबाट आयोजना निर्माण अघि बढाइएको हो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाट जलविद्युत् आयोजनालाई जिल्लाको जलविद्युत् विकासको प्रवेशविन्दुका रूपमा लिइएको बताए । उनका अनुसार राहुघाट आयोजना सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् । करिब दुई दशक लामो प्रतीक्षापछि राहुघाट आयोजना सम्पन्न हुन लागेको खबरले जिल्लावासी उत्साहित भएको उनले बताए ।

जेपीले २०७५ असारमा आयोजनाको पहुँचमार्ग निर्माण तथा २०७६ असारमा मुख्य सुरुङ खन्ने काम सुरु गरेको थियो । आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । परीक्षणका बाँकी काम पूरा भएपछि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुने अपेक्षा गरिएको छ ।

Category: Others