२०८३ भाद्र ८

जुम्लामा ई–पेन्सन सेवा सुरु, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

काठमाडौं । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा आएपछि सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सहज भएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मञ्जित अछामीका अनुसार निजामती कर्मचारीका लागि जिल्लामै पहिलोपटक ई–पेन्सन सेवा सुरु गरिएको हो।

संघीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको ई–पेन्सन सेवा जुम्लामा कार्यान्वयनमा आएपछि गतवर्ष चार जना कर्मचारीले सेवा लिएका थिए।

कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले चन्दननाथ नगरपालिकाबाट पहिलो सेवाग्राहीका रूपमा ई–पेन्सन सेवा लिएका थिए।

स्थानीय तहमै ई–पेन्सन सेवा उपलब्ध भएपछि सेवा निवृत्त कर्मचारीले पेन्सन प्रक्रियाका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको छ।