२०८३ भाद्र ८

‘तिनीहरू’ तेस्रोलिंगीको मात्र होइन, आमा–छोरीको सम्बन्धको कथा हो : निर्माता पौडेल

काठमाडौं । भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ तेस्रोलिंगी समुदायको कथामा मात्र केन्द्रित नरहेको निर्माण पक्षले स्पष्ट पारेको छ।

चलचित्रको ट्रेलरमा किन्नर समुदायका धेरै पात्र देखिए पनि फिल्मको मूल कथा आमा–छोरीको सम्बन्ध, प्रेम र मातृत्वमा केन्द्रित रहेको निर्माता अनुप पौडेलले बताए।

निर्माता पौडेलका अनुसार चलचित्रकी मुख्य पात्र पिरती किन्नर समुदायकी महिला हुन्, जो आफ्नो समुदाय, छोरी र आफूले चाहेको जीवनबीच संघर्ष गरिरहेकी छन्। हराएकी छोरीको खोजीमा एउटी आमाले गर्ने संघर्ष र त्यस क्रममा आइपर्ने सामाजिक तथा पारिवारिक चुनौतीलाई चलचित्रले प्रस्तुत गरेको उनको भनाइ छ।

किन्नर समुदाय चलचित्रको महत्वपूर्ण हिस्सा भए पनि कथालाई त्यतिमै सीमित गर्दा फिल्मको मूल भाव ओझेलमा पर्ने पौडेलले बताए। उनका अनुसार आमाको भावना, मातृत्व र सम्बन्ध कुनै एउटा लैंगिक समुदायमा मात्र सीमित हुँदैन।

अविनाश विक्रम शाहको निर्देशन तथा पटकथा रहेको चलचित्रले नाता, सम्बन्ध र समाजले बनाएका सीमाबीचको प्रेम र मातृत्वको कथा प्रस्तुत गर्छ।

कान्ससहित विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको चलचित्रले कान्समा जुरी च्वाइस अवार्डसमेत प्राप्त गरेको छ। जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथालाई पनि चलचित्रले समेटेको छ।

चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ।

नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको चलचित्र भदौ १९ गतेदेखि नेपालमा प्रदर्शनमा आउने तयारीमा छ।