काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसबाट भएको क्षतिबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो।
भोटेकोशीमा आएको ठूलो बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ। बाढीका कारण स्थानीय बस्ती तथा भौतिक संरचनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठूलो मात्रामा पानीको बहाव प्रवेश गरेपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले रसुवा, नुवाकोट, धादिङ तथा चितवनका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढीबाट थप क्षति हुन नदिन उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्ने विषयमा कमाण्ड पोस्टको बैठकमा छलफल हुने बताइएको छ।



