काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको ठूलो बाढीपछि टिमुरे क्षेत्रमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोलीसँग सम्पर्क टुटेको छ। बाढीका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति भएको आशंका गरिएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक अनुमान छ। टिमुरेमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवन भने सुरक्षित रहेको उनले बताए।
तर, कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग भने हालसम्म सम्पर्क हुन सकेको छैन। बाढीका कारण प्रभावित क्षेत्रमा सम्पर्क तथा आवागमन प्रभावित भएको जनाइएको छ।
सम्पर्कविहीन सुरक्षाकर्मीसँग सम्पर्क स्थापित गर्न तथा टिमुरे क्षेत्रको वास्तविक अवस्था बुझ्न प्रयास भइरहेको सहप्रवक्ता थापाले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।


