काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि काठमाडौं उपत्यकामा पुनः खाना पकाउने ग्यासको अभाव देखिएको छ।
ग्यास लिन उपभोक्ताहरू बिहानैदेखि कालीमाटीस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा लामबद्ध भएका छन्। उपत्यकाका अन्य बिक्री डिपोहरूमा पनि ग्यास लिन उपभोक्ताको भिड बढेको छ।
ग्यास आपूर्ति तथा वितरण ठप्प भएपछि त्यसलाई सहज बनाउन नेपाल आयल निगम, ग्यास विक्रेता महासंघ नेपाल र ग्यास विक्रेता संघ काठमाडौंका पदाधिकारीबीच भएको बैठकले ६ बुँदे निर्णय गरेको छ। नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक दीपक बरालसहितको बैठकले ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्थामार्फत वितरण अघि बढाउने सहमति गरेको हो।
सहमति अनुसार काठमाडौं उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगहरूले तराईका उद्योगबाटै सिलिण्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाइनेछ।
त्यस्तै, व्यावसायिक प्रयोजनका लागि हुने ग्यास बिक्री–वितरण तत्काल रोक्ने निर्णय गरिएको छ। ठूला होटल तथा रेस्टुरेन्ट, खाद्य उद्योग, औद्योगिक कारखाना र व्यापारिक मललाई ग्यास बिक्री नगरी अति आवश्यक उपभोक्तालाई प्राथमिकताका आधारमा उपलब्ध गराइनेछ।
विद्यार्थी, अशक्त, बिरामी तथा ज्येष्ठ नागरिकका साथै विभिन्न आश्रम र बाढी प्रभावितका लागि सञ्चालन गरिएका सेल्टरलाई ग्यास वितरणमा विशेष प्राथमिकता दिने निर्णयसमेत गरिएको छ।





