२०८३ भाद्र २८

बाढीपहिरो पीडितका लागि छुट्टै संयन्त्र नबनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो पीडितको उद्धार तथा राहत वितरणका लागि छुट्टै संयन्त्र नबनाउने निर्णय गरेको छ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समसामयिक परिस्थिति, विपद् व्यवस्थापन तथा राहत वितरणका विषयमा छलफल गर्दै सरकारको कामलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने निष्कर्ष निकालेको हो।

सचिवालय सदस्य लिमा अधिकारीका अनुसार बैठकमा करिब एकदेखि डेढ घण्टासम्म विपद् व्यवस्थापन र राहत वितरणकै विषयमा छलफल भएको थियो।

उद्धार तथा तत्कालीन राहत वितरणको काम सकिएपछि पार्टीका जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरू सबै गुमाएका पीडितको घरदैलोमै पुग्ने योजना रहेको उनले जानकारी दिइन्।

सर्वदलीय बैठकमा भएको सहमतिअनुसार प्रदेश तथा स्थानीय सरकारको समन्वयमा राहत वितरण गरिने र त्यसमा रास्वपाले सरकारलाई नै सहयोग गर्ने अधिकारीले स्पष्ट पारिन्।