२०८३ भाद्र २८

नारायणगढ–मुग्लिन सडकखण्डमा जोखिमपूर्ण ढिस्को हटाउने काम जारी

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा रहेको जोखिमपूर्ण ढिस्को हटाउने काम आज पनि जारी छ। सवारीसाधनलाई आंशिक रूपमा रोकेर सोमबारदेखि सुरु गरिएको कामअन्तर्गत आजदेखि ‘ब्याकह्याम्बर’ प्रयोग गरेर पहिरोको जोखिम रहेको ढिस्को खसाल्न थालिएको हो।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार सडकमा सवारी आवागमन रोकिएको समयमा ढिस्को तथा झर्न सक्ने ढुंगा–माटो हटाउने काम भइरहेको छ। सोमबार दिनभर मजदुरहरूले गलको सहायताले जोखिमपूर्ण ढिस्को हटाएका थिए।

आजदेखि भने ब्याकह्याम्बरको प्रयोग गरेर ढिस्को हटाउने तयारी गरिएको छ। त्यसका लागि हाल छ वटा ब्याकह्याम्बर परिचालन गरिएका छन्। आवश्यकताअनुसार थप उपकरण उपलब्ध गराउन निर्माण व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको घिमिरेले बताए।

जोखिमपूर्ण भिरमा प्राविधिक तथा मजदुरहरू पेटीको सहायताले झुन्डिएर काम गरिरहेका छन्। पहिरोको दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिएको यस क्षेत्रमा डिभिजन सडक कार्यालयले पहिरो नियन्त्रण तथा सडक सुरक्षाका लागि काम अघि बढाएको हो।

यसअघि पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोका कारण सडक अवरुद्ध भएको समयलाई समेत उपयोग गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन आंशिक रूपमा रोकेर पहिरो रोकथामको काम सुरु गरिएको हो।

निर्धारित समयमा आंशिक सडक बन्द

स्थानीय प्रशासनले सोमबार बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा निश्चित समयका लागि आंशिक रूपमा सवारी आवागमन बन्द गरेको छ। सडकखण्डमा बिहान ८ बजेदेखि ८ः३० बजेसम्म, १०ः३० बजेदेखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १ः३० बजेसम्म, ३ः३० बजेदेखि ४ बजेसम्म तथा साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी आवागमन सञ्चालन गरिनेछ।

यी समयबाहेक सडकको जोखिमपूर्ण स्थानमा सवारी रोकेर पहिरो रोकथाम तथा ढिस्को हटाउने काम गरिनेछ।

गत वर्ष १०४ घण्टा सडक अवरुद्ध

गत वर्ष असोज ३ र ७ गते तुइन खोलाको सोही क्षेत्रमा ठूलो पहिरो खस्दा १०४ घण्टासम्म सडक अवरुद्ध भएको थियो। इन्जिनियर घिमिरेका अनुसार अहिले खोलाको नारायणगढतर्फको भित्तोमा पहिरो नियन्त्रणको काम भइरहेको छ।

जोखिमपूर्ण ढिस्को करिब १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइको रहेको छ। केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको थियो। गत वर्ष त्यही भित्तोबाट एक्कासि ठूलो पहिरो खसेपछि उक्त क्षेत्र उच्च जोखिममा परेको हो।

पहिलो चरणमा भित्तोबाट झर्न सक्ने ढुंगा, माटो तथा अन्य सामग्री हटाइनेछ। त्यसपछि ढिस्को सफा गरी भित्तोमा रड ड्रिल गरेर बाहिरबाट जाली लगाउने र पहिरो नियन्त्रण गर्ने काम हुनेछ। यस प्रविधिलाई ‘नेलिङ’ भनिन्छ।

२२ करोड २१ लाखको लागतमा काम

डिभिजन सडक कार्यालयले काम १० महिनाभित्र सम्पन्न गर्ने गरी २२ करोड २१ लाख रुपैयाँमा बोलपत्र आह्वान गरेको थियो। यही बजेटअन्तर्गत नाम्सी खोलाको मुग्लिनतर्फ रहेको डाँडामा पहिरो नियन्त्रणको कामसमेत गर्नुपर्नेछ।

नारायणगढ–मुग्लिन सडकखण्डमा मध्यमदेखि उच्च जोखिमसम्मका ४३ स्थानमा पहिरोको जोखिम पहिचान गरिएको छ। तीमध्ये आठ स्थानलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा लिइएको छ।