काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि बाजुराका १६ जना अझै सम्पर्कविहीन छन्। रसुवाको टिमुरेमा बस्दै आएका उनीहरू बाढी आएपछि आफन्त तथा परिवारको सम्पर्कमा नआएका हुन्।
सम्पर्कविहीनमध्ये हिमाली–६ का विक्रम भण्डारीका नजिकका आफन्तले जिल्ला अस्पताल बाजुरामा तथा नेपाली सेनाका दिपे सार्कीका नजिकका आफन्तले काठमाडौंमा डीएनए परीक्षणका लागि नमुना दिएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो।
लामो समयसम्म पनि सम्पर्कमा नआएपछि बेपत्ताका आफन्तमा निराशा बढ्दै गएको छ। सुरुवाती दिनमा खोजी गर्दा भेटिने आशामा रहेका आफन्तले विभिन्न स्थानमा खोजी गरे पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेपछि आशा कमजोर हुँदै गएको बताएका छन्।
नेपाली सेनाका दिपे सार्कीकी श्रीमती मनसरी सार्कीले सम्पर्कविहीन भएलगत्तै चितवन, रसुवा, टिमुरे र काठमाडौंलगायतका स्थानमा खोजी गरे पनि श्रीमान्को अवस्था पत्ता लाग्न नसकेको बताउनुभयो।
उहाँले भन्नुभयो, “श्रीमान् सम्पर्कविहीन हुनुभएको केही दिनसम्म पक्कै भेटिन्छ भन्ने आशामा थिएँ। उहाँ कतै राहत तथा उद्धारमा खटिनुभएको होला भन्ने सोचेकी थिएँ। तर आज १३ दिन हुँदासम्म पनि कतै भेटाउन सकिएन। अब त आशा पनि निराशामा परिणत हुन थालेको छ।”
१३ दिनसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि आइतबार डीएनए परीक्षणका लागि नमुना दिएको सार्कीले बताउनुभयो।




