काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नेतृत्वमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जाने भएको छ।
प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन्।
परराष्ट्रमन्त्री खनालको नेतृत्वमा रहेको टोली विभिन्न साइडलाइन बैठकमा सहभागी हुन सेप्टेम्बर २० मा न्युयोर्क प्रस्थान गर्नेछ। प्रधानमन्त्री शाह भने सेप्टेम्बर २३ मा न्युयोर्क जाने र सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
महासभामा प्रधानमन्त्री शाहले अपराह्न ३ बजेदेखि राति ९ बजेसम्मको समयमा सम्बोधन गर्नेछन्। निर्धारित कार्यतालिकाअनुसार उनको सम्बोधन १७औँ नम्बरमा रहेको छ।
यसअघि महासभामा परराष्ट्रमन्त्रीले मात्र नेपालको प्रतिनिधित्व गर्ने तयारी गरिएको थियो। तर भोटेकोशी बाढीबाट भएको क्षति तथा त्यसबाट उत्पन्न विपद्का विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने भएपछि प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी हुने निर्णय गरिएको हो।
प्रधानमन्त्री शाह सेप्टेम्बर २५ मा स्वदेश फर्कने कार्यतालिका रहेको छ।




