२०८३ भाद्र २८

भोटेकोशी बाढीमा लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन रहेका छन्।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बर्दियाका ७६, दाङका ५४, रोल्पाका २४, बाँकेका २३ र रुपन्देहीका १९ जना बेपत्ता छन्। यस्तै पाल्पा र प्युठानका नौ–नौ, नवलपरासी पश्चिमका नौ, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका छ तथा रुकुमपूर्वका चार जना सम्पर्कमा आएका छैनन्।

यसैबीच, बाढीपछि नवलपरासी पश्चिममा १५८ वटा शव फेला परेका छन्। तीमध्ये ५२ महिला, ९० पुरुष, छ बालक र छ बालिका रहेका छन् भने चार शवको लिङ्ग पहिचान हुन सकेको छैन। घटनास्थलबाट ६४ वटा शरीरका अङ्गसमेत फेला परेका छन्। शव र शरीरका अङ्ग गरी फेला परेको संख्या २२२ पुगेको छ।

फेला परेका शवमध्ये हालसम्म नौ जनाको पहिचान भएको छ। पहिचान हुनेमा एक महिला र आठ पुरुष छन्। बाँकी १४२ शव तथा ६४ शरीरका अङ्ग गरी २०६ वटा व्यवस्थापन भइसकेको केन्द्रले जनाएको छ।

सम्पर्कविहीनको खोजी तथा फेला परेका शव र शरीरका अङ्गको पहिचान एवं व्यवस्थापनको काम भने अझै जारी रहेको छ।