२०८३ भाद्र २८

रसुवा बाढीपछि विद्युत् पुनःस्थापनामा तीव्रता, नुवाकोटका थप क्षेत्रमा सेवा सुरु

काठमाडौँ । रसुवा बाढीका कारण क्षतिग्रस्त विद्युत् संरचना पुनर्निर्माण गर्दै सरकारले प्रभावित क्षेत्रमा विद्युत् सेवा फर्काउने कामलाई तीव्र बनाएको छ।

भदौ १० गतेको बाढीबाट विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भोलिपल्टैदेखि जनशक्ति र उपलब्ध स्रोतसाधन परिचालन गरेको जनाएको छ। वैकल्पिक उपायसमेत अपनाएर प्रभावित क्षेत्रमा क्रमशः विद्युत् आपूर्ति पुनःस्थापना भइरहेको छ।

यसै क्रममा मंगलबार नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ। बाढी प्रभावित तारकेश्वर–४ मा पनि विद्युत् आपूर्ति सुचारु भइसकेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिएका छन्।

मन्त्री श्रेष्ठका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापित भइसकेको छ।

विद्युत् पुग्न नसकेका क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य प्रणाली वितरण भइरहेको छ। सामुदायिक आश्रयस्थलका लागि २ किलोवाट क्षमताका सोलार प्रणाली तथा आवश्यकताअनुसार घरपरिवारलाई व्यक्तिगत सोलार प्रणाली उपलब्ध गराउने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणका प्राविधिक तथा कर्मचारी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका टोली प्रभावित क्षेत्रमा निरन्तर परिचालन भइरहेका छन्।