२०८३ कार्तिक १६

‘भदौ २४ का दोषीलाई उन्मुक्ति स्वीकार्य छैन’ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको हिंसा, आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। उनले दोषीमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताएका छन्।

घटनाको एक वर्ष पुगेको दिन सामाजिक सञ्जालमा आफ्नो घरमा लुटपाट र आगजनी भइरहेको भिडियो सार्वजनिक गर्दै बस्नेतले त्यस दिन राज्यका संरचनादेखि निजी सम्पत्तिसम्म ठूलो क्षति भएको स्मरण गरेका छन्।

उनका अनुसार घटनाबाट पीडित सयौँ नागरिकले अहिलेसम्म न्याय र क्षतिपूर्ति पाउन सकेका छैनन्। दोषीमाथि कारबाही नहुँदा आफू थप आक्रोशित भएको उनले बताएका छन्।

भदौ २४ को घटनापछि बनेको राजनीतिक सत्ताले देशलाई थप अन्योलतर्फ धकेलेको आरोप लगाउँदै बस्नेतले घटनामा संलग्न व्यक्ति वा समूह जुनसुकै राजनीतिक आवरणमा भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।

उनले भदौ २४ लाई नेपालको इतिहासको ‘कालो दिन’ भन्दै न्याय र जवाफदेहिता कायम हुनुपर्नेमा जोड दिएका छन्।