काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको हिंसात्मक घटनालाई योजनाबद्ध रूपमा लोकतन्त्रमाथि गरिएको आक्रमणको संज्ञा दिएका छन्।
भदौ २४ को विध्वंस भएको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै ओलीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद्, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई नेपालको इतिहासको गम्भीर घटना बताएका छन्।
उनका अनुसार भदौ २३ को प्रदर्शनमा युवाको मृत्यु भएपछि उत्पन्न आक्रोश मात्र त्यसपछिको हिंसाको कारण थिएन। घटनाको उद्देश्य संविधान, लोकतन्त्र र राष्ट्रियताको वर्तमान दिशालाई उल्ट्याएर मुलुकलाई अराजकता र राजनीतिक अस्थिरतातर्फ धकेल्नु रहेको उनको दाबी छ।
शान्तिपूर्ण भनिएको प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थियो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने ओलीले बताएका छन्। उनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनाको जिम्मेवार देखाउँदै गरिएको कारबाहीप्रति समेत आपत्ति जनाएका छन्।
घटनासम्बन्धी सुरक्षा निकायको प्रतिवेदन सार्वजनिक नगरिएको र हिंसामा संलग्नमाथिको अनुसन्धान कमजोर पारिएको ओलीको आरोप छ। राज्यका महत्वपूर्ण संरचनामाथि आक्रमण हुँदा सुरक्षा संयन्त्र किन प्रभावकारी बन्न सकेन भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने उनको भनाइ छ।
ओलीले प्रदर्शनका नाममा हिंसा र अराजकतालाई स्वीकार गर्ने प्रवृत्तिले नेपालको लोकतान्त्रिक अभ्यासमा गलत नजिर बस्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।







