काठमाडौँ । अमेरिका र इरानबीचको तनाव फेरि बढेको छ। अमेरिकी सेनाले इरानसँग सम्बन्धित पाँच तेल ट्यांकरमाथि कारबाही गरेपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडातर्फ २० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।
जोर्डनको सेनाका अनुसार हवाई प्रतिरक्षा प्रणालीले १८ मिसाइल आकाशमै नष्ट गरेको थियो। बाँकी दुई मिसाइल कम जनघनत्व भएका क्षेत्रमा खसेका छन्। घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानले पछिल्ला दुई दिनमा अमेरिकी नौसेनाको युद्धपोतलाई दुईपटक मिसाइलबाट निशाना बनाउन खोजेको थियो। दुवै प्रयास असफल भएपछि इरानको रिभोलुसनरी गार्ड्स कर्प्ससँग जोडिएको तेल कारोबारविरुद्ध कारबाही गरिएको अमेरिकी पक्षको दाबी छ।
अमेरिकी सेनाले ओमानको खाडीमा चार र इरानको खार्ग द्वीप नजिक एक गरी पाँच तेल ट्यांकरमाथि कारबाही गरेको जनाएको छ। कारबाहीअघि चालक दललाई जहाज खाली गर्न भनिएको थियो। अमेरिकाले ती ट्यांकर इरानी रिभोलुसनरी गार्ड्स तथा उसका सहयोगीलाई आर्थिक सहयोग गर्ने ‘छायाँ सञ्जाल’सँग जोडिएको आरोप लगाएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी सैन्य जहाजलाई निशाना बनाए त्यसको जवाफ दिइने चेतावनी दिएका छन्। अमेरिकाले आगामी दिनमा पनि इरानी तेल कारोबारविरुद्ध थप कदम चाल्न सक्ने संकेत उनले गरेका छन्।
उता, आईआरजीसीले कुवेत र बहराइनका बन्दरगाह आसपास रहेका केही तेल ट्यांकरलाई पनि चेतावनी दिएको छ। अमेरिकी पक्षसँग सम्बन्धित जहाजलाई निशाना बनाउन सकिने चेतावनीपछि खाडी क्षेत्रको समुद्री सुरक्षा र विश्वव्यापी तेल आपूर्तिबारे चिन्ता बढेको छ।
इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीप आसपाससमेत अमेरिकी कारबाही भएपछि अन्तर्राष्ट्रिय बजारमा आपूर्तिको विषयलाई लिएर थप चासो बढेको छ। यसअघि सेप्टेम्बर ५ मा पनि अमेरिकाले तीन इरानी तेल ट्यांकरमाथि कारबाही गरेको थियो।
यसैबीच, आईआरजीसीले होर्मुज क्षेत्रमा अमेरिकी पानीमुनि ड्रोन नियन्त्रणमा लिएको दाबी गरेको छ। अमेरिका र इरानबीच लगातार सैन्य गतिविधि बढिरहेका बेला खाडी क्षेत्रका सैन्य अखडा, तेल ट्यांकर र समुद्री मार्गको सुरक्षालाई लिएर तनाव थप बढेको छ।




