काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिका बैठक बस्ने भएका छन्। संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकका लागि विभिन्न विषयमा छलफल तय गरिएको छ।
उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे सुरु हुनेछ। बैठकमा उपसमिति गठनसहित समितिको कामकारबाहीसँग सम्बन्धित विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ बजे बस्नेछ। बैठकमा फैसला कार्यान्वयनको पछिल्लो अवस्था, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे फैसला कार्यान्वयन निर्देशनालयसँग छलफल गरिनेछ। यसका लागि समितिले कानुनमन्त्री, मन्त्रालयका सचिव तथा निर्देशनालयका महानिर्देशकलाई बैठकमा आमन्त्रण गरेको छ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक भने बिहान ९ः३० बजे बस्नेछ। बैठकमा जलवायुजन्य विपद्का कारण कृषि क्षेत्र तथा प्राकृतिक स्रोतमा परेको प्रभावबारे छलफल हुनेछ। साथै, जलवायु परिवर्तनसँग अनुकूलन र जलवायु न्यायका लागि नेपालले अघि बढाउनुपर्ने पहलका विषयमा पनि छलफल गरिनेछ। बैठकमा सहभागी हुन कृषिमन्त्री, मन्त्रालयका सचिव तथा सम्बन्धित वातावरण विज्ञहरूलाई समितिले बोलाएको छ।




