काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन युएसभी फार्मास्युटिकल्सले रु १ करोड ५० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ।
सहयोगसम्बन्धी सम्झौता बिहीबार नेपाल चिकित्सक सङ्घ र युएसभी फार्मास्युटिकल्सबीच भएको हो। सम्झौतामा सङ्घका अध्यक्ष डा. बद्री रिजाल र कम्पनीका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बाढी प्रभावितलाई तत्काल आवश्यक पर्ने औषधि तथा अन्य स्वास्थ्य सामग्रीको विवरण नेपाल चिकित्सक सङ्घले तयार गरी कम्पनीलाई उपलब्ध गराउनेछ।
उक्त विवरणका आधारमा युएसभी फार्मास्युटिकल्सले आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने र प्रभावित परिवारसम्म पुर्याउने व्यवस्था मिलाइनेछ।
बाढीबाट प्रभावित समुदायमा स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न उक्त सहयोग केन्द्रित रहने नेपाल चिकित्सक सङ्घले जनाएको छ।




