२०८३ कार्तिक ७

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको ओन्डो राज्यमा सैन्य विमान दुर्घटना हुँदा विमानमा सवार ३२ जनाको मृत्यु भएको छ। राष्ट्रपति बोला टिनुबुले सोमबार दुर्घटनामा २५ यात्रु र सात चालक दलका सदस्यको मृत्यु भएको पुष्टि गरेका हुन्।

उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोका अनुसार विमान ओन्डो राज्यको नदी किनारमा रहेको इग्बोकाडा समुदायको नौसैनिक आधारनजिक दुर्घटनामा परेको थियो।

नाइजेरियाली वायुसेनाका अनुसार सुरुमा हेलिकप्टर दुर्घटनाको अनुमान गरिए पनि दुर्घटनामा परेको विमान दुई इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ।

विमान दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ नियमित उडानमा रहेका बेला दुर्घटनामा परेको बताइएको छ।

राष्ट्रपति टिनुबुले घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाएका वायुसेनाका सदस्यहरूको योगदानलाई राष्ट्रले सधैँ सम्झिरहने बताएका छन्। उनले दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरेकोमा वायुसेनाको प्रशंसा पनि गरेका छन्।

राष्ट्रपति कार्यालयले घटनालाई नाइजेरियाली सशस्त्र बल र सम्पूर्ण राष्ट्रका लागि गम्भीर दुःखको क्षणका रूपमा उल्लेख गरेको छ।