काठमाडौँ । एसिया–प्रशान्त क्षेत्रमा ऊर्जा र डिजिटल पूर्वाधारलाई रूपान्तरण गर्ने उद्देश्यसहित एसियाली विकास बैंक (एडीबी) ले सन् २०३५ सम्म करिब ७० अर्ब अमेरिकी डलर बराबरको लगानी परिचालन गर्ने घोषणा गरेको छ। उज्बेकिस्तानको समरकन्दमा सम्पन्न एडीबीको ५९औँ वार्षिक बैठकमा यो योजना सार्वजनिक गरिएको हो।
बैठकका क्रममा एडीबी अध्यक्ष मासातो कान्दाले क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित दुई प्रमुख रणनीतिक कार्यक्रम अघि सारेका छन्, जसले ऊर्जा सञ्जाल एकीकरण र डिजिटल पहुँच विस्तारलाई केन्द्रमा राख्छ।
ऊर्जा सम्बन्धी पहलअन्तर्गत सदस्य राष्ट्रहरूबीच विद्युत् सञ्जाल आपसमा जोड्ने योजना समेटिएको छ। यसले सीमापार ऊर्जा व्यापारलाई सहज बनाउँदै एक देशमा उत्पादन भएको अतिरिक्त विद्युत् अर्को देशमा आपूर्ति गर्न सकिने व्यवस्था गर्नेछ। जलविद्युत् तथा सौर्य ऊर्जाको अधिकतम उपयोगमार्फत आपूर्ति असन्तुलन घटाउने र लागत दक्षता बढाउने लक्ष्य राखिएको छ। प्रसारण संरचना विस्तार, सबस्टेशन आधुनिकीकरण, ऊर्जा भण्डारण प्रविधि र ग्रिड सुधार यस योजनाका प्रमुख प्राथमिकतामा छन्।
त्यसैगरी, डिजिटल पूर्वाधार विस्तारलाई दोस्रो प्रमुख स्तम्भका रूपमा अघि सारिएको छ। यस कार्यक्रमले उच्चगतिको इन्टरनेट पहुँच, डेटा पूर्वाधार विकास र सूचना प्रणालीको आधुनिकीकरणमार्फत क्षेत्रीय डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार हुँदा शिक्षा, स्वास्थ्य, व्यापार र सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने अनुमान गरिएको छ। कृत्रिम बुद्धिमत्ताजस्ता प्रविधिको उपयोगमार्फत रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने बताइएको छ।
दुवै पहललाई क्षेत्रीय आर्थिक एकीकरण, दिगो विकास र दीर्घकालीन समृद्धिको आधारका रूपमा लिइएको छ। एडीबीले ऊर्जा र डिजिटल पहुँचलाई आगामी दशकको विकास यात्राका मुख्य चालक तत्वका रूपमा परिभाषित गरेको छ।
सन् १९६६ मा स्थापना भएको एडीबीले एसिया–प्रशान्त क्षेत्रमा गरिबी न्यूनीकरण, पूर्वाधार विकास र आर्थिक वृद्धि प्रवर्द्धनका लागि काम गर्दै आएको छ। हाल यस संस्थामा ६९ सदस्य राष्ट्र रहेका छन्, जसमध्ये बहुसंख्यक देश यसै क्षेत्रका हुन्।




