काठमाडौं, १३ जेठ । चालु आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा योगदान बढेर ९.२२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो योगदान ८.८६ प्रतिशत रहेको थियो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार पछिल्लो एक दशकमा शिक्षा क्षेत्रको जीडीपीमा औसत योगदान ८ प्रतिशत तथा औसत वृद्धिदर ४.१६ प्रतिशत रहेको छ ।
सर्वेक्षणले सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको, निजी शैक्षिक संस्थामा समेत भर्ना न्यून रहेको तथा शिक्षा क्षेत्रमा लगानी घटेका कारण चालु आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि १.५० प्रतिशतले मात्र वृद्धि हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो वृद्धिदर २.३६ प्रतिशत रहेको थियो ।
विद्यालय तहमा भने कुल भर्नादरमा सुधार देखिएको छ । शैक्षिक सत्र २०८२ मा आधारभूत तथा माध्यमिक तह दुवैमा विद्यार्थी भर्नादर बढेको सर्वेक्षणमा उल्लेख छ ।
शिक्षा क्षेत्रका प्रमुख तथ्याङ्क
| सूचक | २०८२/८३ | २०८१/८२ |
| जीडीपीमा शिक्षा क्षेत्रको योगदान | ९.२२% | ८.८६% |
| शिक्षा क्षेत्रको औसत वार्षिक योगदान (पछिल्लो १० वर्ष) | ८% | |
| औसत वृद्धिदर | ४.१६% | |
| कुल मूल्य अभिवृद्धि वृद्धि | १.५०% | २.३६% |
| आधारभूत तह (कक्षा १–८) कुल भर्नादर | १३६.२% | १२४.८% |
| माध्यमिक तह (कक्षा ९–१२) कुल भर्नादर | ८५.७% | ८०.६% |
| कुल विद्यालय सङ्ख्या | ३५,९५१ | |
| थपिएका विद्यालय | १०४ | |
| सामुदायिक विद्यालयको हिस्सा | ७१.२७% | |
| संस्थागत विद्यालयको हिस्सा | २४.८७% | |
| परम्परागत/धार्मिक विद्यालय | ३.८६% | |
| १०० भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालय | ५०.८५% | |
| २ हजारभन्दा कम विद्यार्थी भएका विद्यालय | ०.४७% | |
सर्वेक्षणअनुसार सहरी क्षेत्रमा बढ्दो बसाइँसराइ र जन्मदरमा आएको कमीका कारण ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा छ । विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयलाई नक्साङ्कन गरी क्रमशः समायोजन गर्ने नीति अघि बढाइएको पनि सर्वेक्षणमा उल्लेख गरिएको छ ।




