काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा कुनै पनि प्रकारको ढिलाइ नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका छन्।
आइतबार आयोजना क्षेत्रमा गरिएको निरीक्षणका क्रममा मन्त्री लम्सालले वर्षायामलाई ध्यानमा राख्दै जोखिम न्यूनीकरणका उपाय अपनाएर भए पनि काम निरन्तर अघि बढाउन निर्माण कम्पनीलाई आग्रह गरे। उनले आयोजना समयमै सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको उल्लेख गर्दै लापरबाही वा काममा सुस्तता कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिए।
अनुगमनका क्रममा मन्त्री लम्सालले कामको गति र गुणस्तरप्रति असन्तुष्टि जनाउँदै कडा शब्दमा निर्देशन दिएका थिए। उनका अभिव्यक्तिहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्चा र मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति कठोर असन्तुष्टिका रूपमा व्याख्या गरेका छन् भने केहीले सार्वजनिक पदधारीबाट प्रयोग भएको भाषा उपयुक्त नभएको टिप्पणी गरेका छन्।
मन्त्री लम्सालले आयोजनामा देखिएका समस्या र अवरोधहरू समाधान गर्न मन्त्रालय आवश्यक समन्वय र सहजीकरण गर्न तयार रहेको स्पष्ट पारे। राष्ट्रिय महत्त्व बोकेको उक्त सडक आयोजना समयमै सम्पन्न गर्न सरकार, निर्माण व्यवसायी र सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
यसअघि बिटुमिन आपूर्तिमा देखिएको अभाव तथा केही प्राविधिक चुनौतीका कारण प्रभावित बनेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काम पछिल्ला दिनहरूमा पुनः तीव्र गतिमा अघि बढिरहेको छ। बिटुमिन आपूर्ति सहज भएसँगै विभिन्न खण्डहरूमा कालोपत्रे कार्यसमेत तीव्र रूपमा भइरहेको आयोजनाले जनाएको छ।




