२०८३ असार १

स्वीस राजदूत मेउली र शिक्षामन्त्री पोखरेलबीच भेट, शिक्षा क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–स्वीट्जरल्याण्ड द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय, विकास सहायता परिचालन तथा शिक्षा क्षेत्रमा स्वीस सरकारको सहयोग र साझेदारी विस्तारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा विशेषगरी नेपालको शिक्षा क्षेत्रको विकास तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको प्रवर्द्धनमा केन्द्रित सहकार्यबारे विचार आदानप्रदान भएको थियो।

स्वीट्जरल्याण्ड नेपालका प्रमुख विकास साझेदारमध्ये एक हो। स्वीस सरकारले लामो समयदेखि नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ। विशेषगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीईभीटी) मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

हाल स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी) को सहयोगमा सिटीईभीटीमार्फत ‘नेसनल भोकेसनल क्वालिफिकेसन सिस्टम’, ‘इन्ह्यान्स्ड स्किल्स फर सस्टेनेबल एन्ड रिवार्डिङ इम्प्लोयमेन्ट’ तथा ‘क्वालिटी टेक्निकल एन्ड भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ फर युथ’ परियोजना कार्यान्वयनमा रहेका छन्।

भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र स्वीट्जरल्याण्डबीच लामो समयदेखि मैत्रीपूर्ण र सुमधुर सम्बन्ध कायम रहेको उल्लेख गर्दै नेपालको विकास तथा शिक्षा क्षेत्रमा स्वीस सरकारले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरेका थिए।