काठमाडौं । मंगलबार विद्यालयबाट घर फर्कने क्रममा बर्खे भेलले बगाएर बेपत्ता भएका दुई स्कुले दाजुभाइको शव फेला परेको छ। प्युठानको नौबहिनी गाउँपालिका–५ का मिलन खत्री र विमल खत्रीको शव भेटिएको हो।
काँटेस्थित जनता प्राथमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत विमल खत्रीको शव घटनास्थल जोगीपँधेरामै फेला परेको स्थानीयले बताएका छन्। त्यस्तै, उनका दाजु तथा कक्षा ३ का विद्यार्थी मिलन खत्रीको शव घटनास्थलबाट करिब एक किलोमिटर तल भेटिएको हो।
वर्षाका कारण एक्कासि आएको भेलले उनीहरूलाई बगाएको जानकारी पाएपछि स्थानीयवासी र प्रहरीले तत्काल खोजी तथा उद्धार कार्य सुरु गरेका थिए।
एकै परिवारका दुई बालकको निधनपछि स्थानीय गाउँ शोकमग्न बनेको छ।




