२०८३ असार ३

विश्वकप–२०२६: अष्ट्रियाको विजयी सुरुआत, जोर्डनलाई ३–१ ले पराजित

काठमाडौं  । विश्वकप–२०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अष्ट्रियाले डेब्यु टोली जोर्डनलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अष्ट्रियाले खेलको अधिकांश समय दबाब कायम राख्दै महत्वपूर्ण जित हासिल गरेको हो।

खेलको २१ औँ मिनेटमा रोमानो सिमिडले जाभर सिलागरको पासलाई गोलमा परिणत गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्म अष्ट्रिया अग्रतामा रहेको खेल दोस्रो हाफमा थप रोमाञ्चक बनेको थियो।

५० औँ मिनेटमा जोर्डनका अलि ओल्वानले नुर अल रावादेहको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।

तर, ७६ औँ मिनेटमा जोर्डनका याजन अल अरबको आत्मघाती गोलपछि अष्ट्रियाले पुनः अग्रता बनायो।

निर्णायक क्षणमा इन्जुरी समयको अन्तिम मिनेटमा प्राप्त पेनाल्टीलाई मार्को आर्नाटिभचले गोलमा परिणत गर्दै अष्ट्रियाको ३–१ को जित सुनिश्चित गरे।

जितसँगै अष्ट्रियाले समूह ‘जे’ मा तीन अंक जोड्दै दोस्रो स्थानमा स्थान बनाएको छ। समान तीन अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा छ भने जोर्डन तेस्रो र अल्जेरिया अन्तिम स्थानमा रहेका छन्।